आदर्श पेट्रोल पम्पमा डाँका र कुटपिटको जाहेरी , वडा अध्यक्षद्वारा डीएसपीमाथि गम्भीर आरोप
आदर्श पेट्रोल पम्पमा डाँका र कुटपिटको जाहेरी , वडा अध्यक्षद्वारा डीएसपीमाथि गम्भीर आरोप

प्रेमचन्द्र झा /माघ २५ रौतहट
गरुडा नगरपालिका–६ स्थित आदर्श आयल स्टोर्समा भएको कुटपिट तथा डाँकासम्बन्धी घटनामा जाहेरी दर्ता गराउँदै गरुडा–६ का वडा अध्यक्ष रामबाबु प्रसाद चौधरीले इलाका प्रहरी कार्यालय गरुडा प्रमुख डीएसपी शंकर प्रसाद आचार्यमाथि गम्भीर आरोप लगाएका छन् ।
वडा अध्यक्ष चौधरीले माघ १५ गते राति ९ः२० बजे आदर्श आयल स्टोर्समा योजनाबद्ध रूपमा प्रवेश गरी केही व्यक्तिहरूले आफ्ना दुई छोरामाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको तथा काउन्टरमा रहेको नगद ३ लाख रुपैयाँ डाँका गरी फरार भएको उल्लेख गरेका छन् । उक्त घटनामा रंजीत कुमार चौधरी र रोहित कुमार चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार गरुडा हुँदै थप उपचारका लागि काठमाडौ लगिएको जनाइएको छ ।
जाहेरीमा उल्लेख भएअनुसार किसन राय यादव, मिथलेश राय यादव, विकी राय यादव, आरभ राय यादव, रामनिवास राय यादवसहित अन्य २–३ जना मिलेर फलामको रड, फाइटर तथा ढुंगाको प्रयोग गरी कुटपिट गरेका थिए । घटनाको प्रमाण आदर्श आयल स्टोर्समा जडान गरिएको सीसीटीभी फुटेजमा स्पष्ट देखिने दाबी गरिएको छ ।
तर, सो घटनाको जाहेरी दर्ता प्रक्रियालाई लिएर वडा अध्यक्ष चौधरीले पत्रकार सम्मेलन गरी इलाका प्रहरी कार्यालय गरुडा प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले तस्कर र दलालसँग साँठगाँठ गरी मुद्दा दर्तालाई ‘ठूलो कमाइको थलो’ बनाएको आरोप लगाएका छन् । उनले पीडितलाई न्याय दिन ढिलाइ भइरहेको र प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन् ।
यता, डीएसपी शंकर प्रसाद आचार्यले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै कुनै पनि किसिमको सेटिङ, लेनदेन वा दबाबको आधारमा मुद्दा दर्ता नगरेको स्पष्ट पारेका छन् । उनले कानुनअनुसार निष्पक्ष रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।






