पर्साको सिर्सिया नाकामा प्रहरीकै संरक्षणमा तस्करी
पर्साको सिर्सिया नाकामा प्रहरीकै संरक्षणमा तस्करी

वीरगंज ६ जेठ
वीरगंजस्थित प्रहरी चौकी सिर्सियामा कार्यरत घुमुवा प्रहरी सहायक हवल्दार नरेश गुप्तामाथि तस्करीलाई संरक्षण दिँदै आर्थिक असुलीमा संलग्न रहेको गम्भीर आरोप लागेको छ । स्थानीय स्रोतका अनुसार सिर्सिया, अलौं तथा खल्लवाटोला नाकाबाट हुने अवैध तस्करी गतिविधिमा गुप्ताको प्रत्यक्ष संरक्षण रहेको दाबी गरिएको छ ।
स्थानीयवासीका अनुसार कपडा, हार्डवेयर, मोटर पार्ट्स, काजु, कस्मेटिक सामग्री, सुर्तीजन्य वस्तु, मदिरा, ब्याट्री तथा भैंसीजस्ता सामानहरू दैनिक रूपमा अवैध तरिकाले नेपाल भित्रिने गरेका छन् । प्रहरी चौकी सिर्सियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा रहेको उक्त चौकीमा गुप्ता करिब आठ महिनादेखि कार्यरत छन् ।
खल्लवाटोला सिर्सिया, बगैंचाको बाटो र अलौं नाकाबाट ठूलो परिमाणमा सामान भित्रिने गरेको स्थानीय प्रत्यक्षदर्शीहरूको भनाइ छ । स्थानीय व्यापारीहरूले गुप्ताले साना व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने, पसलबाट पैसा नतिरी सामान लैजाने तथा सर्वसाधारणलाई डर–त्रासमा राख्ने गरेको आरोप लगाएका छन् ।
एक स्थानीय पसलेले नाम नखुलाउने सर्तमा बताए अनुसार गुप्ताले आफूलाई “सिंघम प्रहरी” भन्दै परिचित गराउने गरेका छन् । उनले “मेरो पहुँच प्रहरी हेडक्वाटरसम्म छ, मलाई जिल्लाको एसपी र डीएसपीले समेत केही गर्न सक्दैनन्,” भन्दै धम्कीपूर्ण शैलीमा व्यवहार गर्ने गरेको आरोप छ ।
स्रोतका अनुसार विभिन्न तस्कर समूहसँग मासिक रकम लिएर गुप्ताले “ग्रीन सिग्नल” दिने गरेका कारण रातभरि तस्करी मौलाएको छ ।
भारतीय क्षेत्रबाट साइकल तथा मोटरसाइकलमार्फत सामान ओसारपसार हुने गरेको स्थानीयहरूको भनाइ छ ।स्थानीयवासीले गुप्ताले आफू वरिष्ठ सई जिम्बाको “दाहिने हात” भएको भन्दै प्रभाव देखाएर रकम असुली गरिरहेको आरोप लगाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार उनी रातिको समयमा स्वयं नाकामा पुगेर तस्करीको सामान कटाउन सहयोग गर्ने गरेका छन् ।
यसैबीच, आईसीपी क्षेत्र आसपासका होटल तथा मदिरा पसलहरूमा खुला रूपमा देह व्यापार भइरहेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन् । पटक–पटक प्रहरीलाई जानकारी गराउँदा समेत नियन्त्रणको सट्टा ती होटल तथा पसलहरूबाट मासिक रकम उठाउने गरिएको आरोप छ । पर्साको सिर्सिया नाकामा प्रहरीकै संरक्षणमा तस्करी ?स्थानीयका अनुसार केही खाजा पसलहरूले भारतीय गाडी चालक तथा सहचालकलाई महिलासँग जोडेर आर्थिक लुटपाटसमेत गर्ने गरेका छन् । प्रहरी प्रशासनले यस्ता गतिविधिप्रति मौनता साँधेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
प्रहरी संगठनकै नाम बदनाम हुने गरी केही प्रहरी कर्मचारीमाथि यस्ता आरोप लागिरहँदा माथिल्लो निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन् । संभार : दैनिक वीरगंज





