माधव नारायणमा प्रधानाध्यापकसहित शिक्षकहरू कांग्रेसको नगर भेलामा खुलेआम सहभागी

माधव नारायणमा प्रधानाध्यापकसहित शिक्षकहरू कांग्रेसको नगर भेलामा खुलेआम सहभागी

प्रेमचन्द्र झा/ रौतहट ०८ असोज 

माधव नारायणमा प्रधानाध्यापकसहित शिक्षकहरू कांग्रेसको नगर भेलामा खुलेआम सहभागी भएको आरोपमाधव नारायण नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरू विद्यालयको पठनपाठन र शैक्षिक जिम्मेवारीभन्दा बाहिर गएर राजनीतिक कार्यक्रममा खुलेआम सहभागी भएको विषयले चर्चा पाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा स्थानीयस्तरमा प्राप्त विवरणअनुसार माधव नारायण नगरपालिकाअन्तर्गतका केही विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू नेपाली कांग्रेससँग सम्बन्धित वडा तथा नगरस्तरीय कार्यक्रममा सहभागी भएको देखिन्छ।

उनीहरू पार्टीका सामान्य कार्यकर्ताझैँ कार्यक्रममा उपस्थित भएर सहभागीहरूसँग सामूहिक तस्बिर खिचाएको दृश्यसमेत सार्वजनिक भएको छ।
विशेषगरी श्रीदेवी माध्यमिक विद्यालय सखुआवाका प्रधानाध्यापक लखेन्द्र प्रसाद यादव, आधारभूत विद्यालय फुलवरियाका प्रधानाध्यापक राजकिशोर यादव तथा सखुआवा माध्यमिक विद्यालयका विज्ञान शिक्षक सुरेन्द्र यादव राजनीतिक कार्यक्रममा सहभागी भएको भन्दै स्थानीयस्तरमा प्रश्न उठाइएको छ।विद्यालय कि राजनीतिक मञ्च?

तस्बिरहरू मा शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी व्यक्तिहरू सँगै उभिएको तथा कतिपय कार्यक्रममा पार्टीगत गतिविधिमा सहभागी भएको देखिन्छ। उनीहरू विद्यालयको कार्यालय समयमै सहभागी भएका थिए वा बिदा लिएका थिए ।विद्यालय समय बाहिर, त्यो भने स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

स्थानीयवासीले भने विद्यालयमा अध्यापन गराउने जिम्मेवारीमा रहेका शिक्षकहरू कुनै राजनीतिक दलको कार्यक्रममै सक्रिय रूपमा देखिनु विद्यालयको शैक्षिक वातावरण र शिक्षकको सार्वजनिक भूमिका सँग जोडिएको गम्भीर विषय भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयको प्रश्न छ—विद्यालयमा विद्यार्थीलाई पढाउने जिम्मेवारी पाएका शिक्षक राजनीतिक दलको वडा वा नगरस्तरीय कार्यक्रममा पार्टी कार्यकर्ताकै रूपमा सहभागी हुन मिल्छ कि मिल्दैन?

यदि उनीहरू विद्यालयको कार्यसमयमा अनुमति नलिई राजनीतिक कार्यक्रममा सहभागी भएको पुष्टि भए त्यसबारे सम्बन्धित शिक्षा निकायले के कारबाही गर्छ भन्ने प्रश्न पनि उठेको छ।

अर्कोतर्फ, सार्वजनिक भएका तस्बिरले अझै शिक्षक छाडा नै हुन स्थानीयले आरोप लगाएका छन | फोटो भिडियोलाई ठोस प्रमाण रहेकाे आधार बनाएर शिक्षकहरू दोषी ठहर गर्न मिल्ने भएकाले सम्बन्धित शिक्षकहरू लाइ कारवाही गर्न स्थानिय शिक्षा प्रेमीहरु ले जोडदार रुपमा माग गरेका छन ।

तर कार्यक्रममा सहभागी भएको समय, विद्यालयको उपस्थिति विवरण र बिदा सम्बन्धी अभिलेख समेत हेर्नुपर्ने देखिन्छ। शिक्षकको राजनीतिक आस्था व्यक्तिगत विषय हुन सक्ने भए पनि सार्वजनिक विद्यालयको प्रधानाध्यापक तथा शिक्षकका रूपमा उनीहरूको पहिलो संस्थागत जिम्मेवारी विद्यालयको पठनपाठन, विद्यार्थीको शैक्षिक हित र विद्यालयको प्रशासनिक व्यवस्थापन हो। त्यसैले उनीहरू राजनीतिक गतिविधिमा सहभागी भएको भए त्यसको प्रकृति, समय र प्रचलित कानुनी तथा आचारसंहिता सँगको सम्बन्धबारे सम्बन्धित निकायबाट स्पष्टता आवश्यक देखिन्छ।

यस विषयमा माधव नारायण नगरपालिका, शिक्षा शाखा तथा सम्बन्धित शिक्षा प्रशासनले सार्वजनिक भएका तस्बिर र उजुरीको आधारमा छानबिन गर्ने कि नगर्ने भन्ने विषयमा स्थानीयको चासो बढेको छ। स्थानीयवासीले राजनीतिक पहुँचका आधारमा कसैलाई संरक्षण नगरी प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका छन्।

विद्यालय विद्यार्थीको भविष्य निर्माण गर्ने स्थान हो कि राजनीतिक गतिविधिको मञ्च? अहिले माधव नारायण नगरपालिकामा सार्वजनिक भएका यी तस्बिरले यही प्रश्न उठाएको छ। आरोप पुष्टि भए जिम्मेवार माथि नियमानुसार प्रक्रिया अघि बढाउनुपर्ने र आरोप पुष्टि नभए शिक्षकहरूलाई लागेको आरोपबारे स्पष्ट तथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।