डिभिजन बन कार्यालय पर्साका बन अधिकृतको गैरजिम्मेवारीका कारण काठ तस्करी एवं बनको जग्गामा गाँजा खेती फस्टाउदै
वीरगंज । डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिजन बन अधिकृत मन्जुर अहमद आए देखि जिल्ला अन्तर्गत रहेका सब डिभिजन बन कार्यालयहरुले प्रत्येक दिन तस्करी कार्य बढदै गएको स्थानियहरुले गुनासो गरेका छन् ।
हुनत प्रमुख अहमद पर्सामा आएको करिब एक महिना भन्दा बढी भएको छ । उनी आए देखि केही मात्रामा तस्करीको काठहरु पक्राउ परिरहेको सुनिए पनि सेटिङ्गमा काठ तस्करहरुलाई उन्मुक्ति दिईरहेको समाचार स्रोतले जनाएको छ ।
सब डिभिजन बन कार्यालयका कर्मचारीहरुले काठ सहित तस्करहरुलाई पक्राउ गरे पनि प्रमुख अहमदको मिलोमतोमा तस्करहरुलाई उन्मुक्ति दिने कार्यहरु भईरहेको स्रोतको दाबी रहेको छ ।
काठ र तस्करहरु बेला–बेलामा पक्राउ पर्नुले पर्सामा काठ तस्करीको कार्य बढेको प्रमाणित हुदै गएको छ । कर्मचारीहरु मार्फत जुन तस्करले सेटिङ्ग गरेको छ उनीहरुको काठलाई छुट दिईएको र सेटिङ्ग गर्न नसकेका तस्करहरुको काठ धमाधम पक्राउ परिरहेको जनाईएको छ ।
डिभिजन बन अधिकृत अहमद कार्य भार सम्हाले देखि अहिले बन अतिक्रमित जग्गा खाल्ली गराउने कुनै प्रकारको चासो देखिएको छैन । सबै साझेदारी अन्तर्गत रहेको बनहरुमा केही महिना पहिला लाखौं रुपैंया लगानी गरी साझेदारीहरुले तारबार लगाई बिभिन्न किसिमका बिरुवाहरु बृक्षारोपण गरेका थिए । हाल पर्सागढी नगरपालिका वडा नं. ३ झबराहा, बढनिहार लगायतका स्थानहरुमा सयौं बिगहा जग्गाहरु अतिक्रमणको चपेटामा परेको स्थानियहरुले बताएका छन् ।
त्यो ठाउँ अहिले खेल मैदान र गाँजा खेतीमा परिणत भईसकेको स्थानियहरुले जनाएका छन् । डिभिजन बन कार्यालय पर्सा र सब डिभिजन बन कार्यालयका केही कर्मचारीहरुलाई बनको जग्गामा गाँजा खेती भएको जानकारी हुँदा हुँदै पनि रकमको लोभमा सो गाँजा खेतीलाई संरक्षण गर्दै आए पनि सोमबार पर्सा प्रहरीले गाँजा फडानी गरेको छ ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली मातहत रहेका इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरी चौकी मानवा, प्रहरी चौकी बढनिहार, सशस्त्र बेस क्याम्प बागेश्वरी तित्रौना र सब डिभिजन वन कार्यालय बढनिहारको संयुक्त टोलीले सखुवा प्रसौनी गाँउपालिकाको सखुवनीया र सब डिभिजन बन कार्यालय बढनिहार र बिन्दबासिनी, कोइला भार साझेदारी बन क्षेत्र अन्तर्गतको करिब ५ बिगहा जग्गामा गरिएको गाँजा खेती नष्ट गरेको छ ।
यसले पनि डिभिजन बन कार्यालय पर्सा र सब डिभिजनका कर्मचारीहरुको मिलोमतोमा बनको जग्गामा गाँजा खेती गरिएको प्रमाणित हुन्छ । यस तर्फ मधेश प्रदेश बन तथा वातावरण मन्त्रालय एवं संघिय वन मन्त्रालयको ध्यानाकर्षण हुन जरुरी रहेको सचेत नागरिकहरुको भनाई रहेको छ ।