डिएसपी भट्टको रक्तदानले सुत्केरीको ज्यान जोगियो, छोराको जन्मले परिवारमा खुसी छायो

डिएसपी भट्टको रक्तदानले सुत्केरीको ज्यान जोगियो, छोराको जन्मले परिवारमा खुसी छायो

बझाङ ११ बैशाख

बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीको ज्यान डिएसपीको सहायताले जोगिएको छ। अप्ठ्यारो अवस्थामा पुगेकी सुत्केरीलाई सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले रक्तदान गरी जीवनदान दिएका छन्।

गाउँकी दुर्गम बासिन्दा जाग्री हालसम्म सात सन्तानकी आमा भइसकेकी छन्, जसमध्ये दुई छोरीको बाल्यकालमै मृत्यु भइसकेको छ। पछिल्ला केही दिनदेखि बझाङ जिल्ला अस्पतालमा छटपटाइरहेकी जाग्रीलाई चिकित्सकले तत्काल रगत आवश्यक भएको बताएपछि उनका श्रीमान् निकै तनावमा थिए।

जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले ढाडस दिए पनि उपयुक्त रक्तदाता तत्काल भेटिँदैन भन्ने त्रास थियो। त्यही क्रममा उनका श्रीमान्ले डिएसपी भट्टलाई सम्पर्क गरेका थिए। संयोगवश, डिएसपी भट्टको रगत समूह ‘ए पोजेटिभ’ भएकाले तुरुन्तै रक्तदानका लागि अस्पताल पुगे।

रक्तदानपछि डा. जोशीको नेतृत्वमा भएको अप्रेसन सफल रह्यो। सुत्केरी जाग्रीले स्वस्थ छोरालाई जन्म दिएकी छन्। श्रीमान्ले भने, “डा. नवराज जोशी मेरो लागि भगवान सावित हुनुभयो। डिएसपी भट्टज्यूको मानवीय सहायताले हाम्रो परिवारमा पुनः खुसी ल्याएको छ।”

जिल्ला अस्पतालमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले रक्तदानको संस्कृति अघि सारेका छन्। तर, अस्पतालमा स्थायी ब्लड बैंकको आवश्यकता अझै पनि महसुस भइरहेको छ।

डा. जोशीका अनुसार, सुत्केरीको अवस्था अहिले सामान्य छ र नवजात शिशु पनि पूर्ण रूपमा स्वस्थ छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।