“घर–घर कमल” नारासहित नेपाल जनता पार्टीको पर्सागढीमा आक्रामक घरदैलो अभियान
“घर–घर कमल” नारासहित नेपाल जनता पार्टीको पर्सागढीमा आक्रामक घरदैलो अभियान

पर्सा २१ माघ
पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नं. ७ का तिकुलिया, रधुनाथपुर, बागेश्वरी तथा वडा नं. ९ एकटाँगामा आज नेपाल जनता पार्टीले व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताले घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
कार्यक्रममा “एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता”, “हर हर कमल, घर घर कमल” जस्ता नारासहित स्थानीय बासिन्दामाझ पार्टीको राजनीतिक एजेन्डा प्रस्तुत गरिएको थियो। अभियानका क्रममा युवा, महिला तथा विद्यार्थी वर्गलाई विशेष प्राथमिकता दिँदै उनीहरूको सम्मान, सहभागिता र नेतृत्व विकासमा जोड दिइएको आयोजकले जनाएको छ।
घरदैलो कार्यक्रममा आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य सुधार, सुशासन, विकास र सुरक्षा तथा रोजगारी सिर्जनाजस्ता मुद्दा प्रमुख रूपमा उठाइएको थियो।
पार्टीका प्रतिनिधिहरूले क्षेत्रीय समृद्धिका लागि नेपाल जनता पार्टीलाई समर्थन गर्न मतदातासँग अपिल गरेका थिए। स्थानीय स्तरमा बढ्दो राजनीतिक सक्रियतासँगै घरदैलो कार्यक्रमले चुनावी माहोल थप तातेको देखिएको छ। कार्यक्रमले मतदातासँग प्रत्यक्ष सम्बन्ध सुदृढ बनाउने र पार्टीको नीति–कार्यक्रम जनतामाझ पुर्याउने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ।






