१० हजार क्युफिटभन्दा बढी काठ जलेर नष्ट

१० हजार क्युफिटभन्दा बढी काठ जलेर नष्ट

प्रेमचन्द्र झा /रौतहट २९ माघ

रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेला स्थित नमुना सामुदायिक वन उपभोक्ता समूहले घाटगद्दी गरेर राखेको सालको काठमा बिहीबार दिउँसो आगलागी हुँदा करिब १० हजार क्युफिटभन्दा बढी काठ जलेर नष्ट भएको अनुमान गरिएको छ। पौराइ–जुडिबेला सव–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत बालकिशोर सिंहका अनुसार उक्त घाटगद्दीमा करिब ३० हजार क्युफिटभन्दा बढी सालको काठ थन्किएको थियो। आगो गोठालाले लगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट ट्याङ्कर पठाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिएका छन्। नमुना सामुदायिक वन उपभोक्ता समूहकी सचिव ललिता चौधरीका अनुसार आगलागी नियन्त्रणका लागि सम्बन्धित निकायमा खबर गरिए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

उक्त सामुदायिक वनमा करिब ७ वर्षदेखि काठ घाटगद्दीमा थन्किएको थियो। कानुनी प्रक्रिया, झन्झटिलो चेकजाँच तथा बिक्री सहमति र निकासी आदेशमा ढिलाइका कारण काठ बिक्री हुन नसकेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

‘झन्झटिलो प्रक्रिया र ढिलासुस्तीले काठ कुहियो’

सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेद हरी दाहालले प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालयको ढिलासुस्तीका कारण जिल्लाका बनटोल, नमुना, मल्हेनियामाई, देउराली, जनसेवा, दोभानलगायतका सामुदायिक वनमा करिब एक लाख क्युफिटभन्दा बढी काठ वर्षौंदेखि थन्किएको बताएका छन्। उनका अनुसार बिक्री सहमति र निकासी आदेश समयमा नदिँदा सामुदायिक वनहरूले आम्दानी गुमाउनुका साथै कटान तथा संकलनमा खर्चिएको लाखौँ रुपैयाँ डुबेको छ। कतिपय सामुदायिक वनले लाखौँ ऋणसमेत बोकेको दाबी गरिएको छ।

दाहालले सम्बन्धित निकायबीच समन्वय अभाव नै समस्या जटिल बन्नुको मुख्य कारण भएको उल्लेख गर्दै जिम्मेवार निकायले समयमै निर्णय नगर्दा काठ कुहिनु र आगलागीबाट नष्ट हुनु दुःखद भएको बताए।

वन कार्यालयको फरक दाबी

यता सव–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत सिंहले भने काठ बिक्री नहुनुमा कानुनी झन्झट तथा सामुदायिक वनका पदाधिकारीको गैरजिम्मेवारीपन पनि कारण रहेको बताएका छन्।

तीन वर्षअघि पनि यसै घाटगद्दीमा आगलागी हुँदा सयौँ क्युफिट काठ नष्ट भएको थियो। वन क्षेत्रमा थन्किएको काठको उचित व्यवस्थापन नहुँदा आगलागीको जोखिम बढ्दै गएको स्थानीयहरूको भनाइ छ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ भने आगलागीको कारण र जिम्मेवारीबारे थप अनुसन्धान आवश्यक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।