गादीमाई वनमा फँडानी विवाद : डिभिजन वन प्रमुख र उपभोक्ता समिति अध्यक्षविरुद्ध स्थानीयको प्रदर्शन
गादीमाई वनमा फँडानी विवाद : डिभिजन वन प्रमुख र उपभोक्ता समिति अध्यक्षविरुद्ध स्थानीयको प्रदर्शन

श्रवण साह
वीरगञ्ज २५ फागुन
पर्साको बसन्तपुर स्थित गादीमाई वन उपभोक्ता समूह अन्तर्गत पर्ने वन क्षेत्रमा भएको भनिएको वन फँडानी लाई लिएर स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। डिभिजन वन कार्यालय पर्साका प्रमुख मंजुर अहमद र गादीमाई वन उपभोक्ता समूह बसन्तपुर, पर्साका अध्यक्ष सहरुम राउत गद्दीको मिलेमतोमा वन फँडानी भएको आरोप लगाउँदै स्थानीयहरूले विरोध जनाएका हुन्।
स्थानीयका अनुसार करिब ४१०९.२२ हेक्टर क्षेत्रफलमा फैलिएको गादीमाई वन क्षेत्रमा पछिल्लो समय व्यापक रूपमा रूख कटान गरिएको छ। वन संरक्षण गर्नुपर्ने जिम्मेवारी पाएका निकाय र उपभोक्ता समितिका पदाधिकारीकै मिलेमतोमा वन नष्ट भइरहेको आरोप स्थानीयहरूले लगाएका छन्।
विरोध प्रदर्शनका क्रममा स्थानीयहरूले वन विनाशमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले विशेषगरी गादीमाई वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको तत्काल राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।
स्थानीय बासिन्दाले वन फँडानीमा वन कार्यालयका केही कर्मचारीको समेत संलग्नता रहेको आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार वन क्षेत्रभित्रका बहुमूल्य काठ अवैध रूपमा काटेर बाहिर लैजाने काम भइरहेको छ, तर जिम्मेवार निकाय मौन बसेको आरोप लगाइएको छ।
स्थानीयहरूले वन संरक्षण ऐन र नियमावलीअनुसार वन जोगाउनु पर्ने दायित्व सम्बन्धित निकायको भए पनि त्यसको कार्यान्वयन कमजोर भएको बताएका छन्। वन क्षेत्र विनाश हुँदा वातावरणीय सन्तुलन बिग्रने, वन्यजन्तुको बासस्थान प्रभावित हुने तथा स्थानीय पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्ने उनीहरूको भनाइ छ।
प्रदर्शनकारीहरू ले वन फँडानी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन वन व्यवस्थापनमा पारदर्शिता र कडाइ आवश्यक रहेको उनीहरूले बताएका छन्।
उता डिभिजन वन कार्यालय पर्सा र गादीमाई वन उपभोक्ता समूहका पदाधिकारीहरूले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। स्थानीयहरूले छानबिन नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।






