प्रहरी चौकी गण्डकका ईन्चार्ज जगदीशले एसपी मिश्रको नाम भजाउदै असुली गर्दै

अजय चौरसिया /
वीरगंज १९ भदौ । प्रहरी चौकी गण्डक वीरगंजका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जगदीश यादवको असुली धन्दा अझ पनि जारी रहेको बताईएको छ ।
वीरगंज, कलैयाबाट खुल्ने रात्री बस तथा ट्रान्सपोर्टका गाडीहरुबाट असई यादव आफै र आफ्ना घुमुवा प्रहरी हवलदार छोटेलाल यादवलाई खटाई असुली कार्य जारी राखेको समाचार स्रोतले जनाएको छ ।
भदौ १४ गते यस अनलाईनले “प्रहरी चौकी गण्डकका ईन्चार्ज र घुमुवा यादवद्वयको असुली कार्य जारी” शिर्षकमा समाचार प्रकाशन भए पछि असई यादवले “म पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रको मान्छे हुँ, वहाँ बारा जिल्लामा डिएसपी हुँदा उनकै छत्रछायामा बसी मालदार चौकीको जिम्मेवारी निर्वाह गरिसकेको छु, जसले जतिसुकै मेरो बारेमा लेखे पनि म माथि कुनै कारवाही नहुने” भन्दै बुधवार बिहान आफ्नै प्रहरी पोष्ट गण्डकको अगाडि बेन्चमा बसी घुर्की देखाएको उनको भनाईलाई उद्धृत गर्दै समाचार स्रोतले जनाएको छ ।
प्रहरी उपरिक्षक मिश्र तत्कालिन समयमा बारामा डिएसपी छदा असई यादवलाई खजानी र पथलवाघाट दुई दुई पटक, श्रीनगर बैरिया, कचोर्वा जस्ता मालदार चौकीहरुको जिम्मेवारी दिएका थिए । सो जिम्मेवारी पाएकोमा असई यादवले मिश्रलाई राम्रै सहयोग गरेको ती स्रोतको भनाई रहेको छ ।
बाराको विभिन्न मालदार चौकीहरु भन्दा प्रहरी चौकी गण्डक वीरगंज कम नरहेको बताईन्छ । हेर्दा गण्डक चौकी सामान्य लागे पनि “सुनको अण्डा” दिने चौकीको रुपमा चर्चित रहेको प्रहरी स्रोतले जनाएको छ ।
वीरगंजका विभिन्न ट्रान्सपोर्टहरुबाट अवैध सामग्रीहरु लोड गरी दैनिक दर्जनौं दर्जन गाडीहरु गण्डक भएर अन्य जिल्लाहरुमा पुग्छन् । सो गाडीमा अवैध सामग्रीहरु रहेको सूचना पाए पनि चेकजाँच गरी कारवाहीको दायरामा ल्याउनु पर्नेमा घुमुवा हवलदार यादवले सो गाडीहरु सँग सेटिङ्ग मिलाई मासिक रुपमै लाखौ लाख नजराना बुझने गरेको बताईन्छ ।
त्यसैगरी वीरगंजबाट चल्ने रात्री बस, माईक्रो लगायतका गाडीहरुमा पोके महिला तस्करहरु सँग पनि घुमुवा यादवले प्रति पोकाको रकम निश्चित गरेर एकमुष्ट बुझने गरेको स्रोतले जनाएको छ । पोके तस्करहरुले कुनै पनि गाडीमा अवैध सामग्रीहरु लिएर जाँदा सो चौकीका डियुटीमा खटेका प्रहरीहरुले सोधपुछ गर्दा “फलानो व्यक्तिको सामान हो, हवलदार छोटेलाल सर सँग ठिक छ” भने पछि जानुस भन्दै छुट दिने गरिएको एक पोके तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
सो चौकीका घुमुवा छोटेलालले मासिक रुपमा करिब ३ लाख देखि ५ लाख सम्म असुल्ने गरेको ती तस्करको दाबी रहेको छ । प्रहरी हवलदार छोटेलालको दरबन्दी सर्लाही जिल्लामा भए पनि उनी वीरगंजमा घुमुवाको रुपमा कार्यरत्त रहेको बताईन्छ ।
घुमुवा छोटेलाल यस भन्दा अगाडि वीरगंज भन्सार, बसपार्क चौकीमा घुुमुवा बसीसकेकाले उनलाई गण्डक चौकीका ईन्चार्ज असई जगदीश यादवले अनुभवी घुमुवा रहेको भन्दै छोटेलाल सँग असुली गराई रहेको समाचार स्रोतले जनाएको छ ।
हुनत, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले मधेश प्रदेश भरीकै घुमुवाहरुलाई हटाई सकेको र कसैले आफु घुमुवा हो भन्दै रकम असुली गरेको पाईए कारवाहीको दायरामा ल्याउने बताउदै आएका छन् । तर हालसम्म पर्सा जिल्लाको गण्डक चौकीका घुमुवा छोटेलाल यादव आफ्नो असुली कार्य जारी राख्दा पनि उनी माथि कारवाही नहुँदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।
केही दिन पहिला संघिय सरकारका गृह मन्त्री रमेश लेखक पर्सा जिल्ला आउँदा उनले अवैध गतिविधि रोक्न पर्साका प्रहरी प्रशासनलाई निर्देशन दिए पनि हाल सो निर्देशनलाई केही प्रहरीहरुले रद्दीको टोकरीमा फालेको देखिन्छ । यस तर्फ प्रहरीको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको देखिन्छ ।






