समाचार बाहिरिएपछि रोकियो दोहन, अनुगमनअघि लिक पुर्ने र माटो हाल्ने प्रयास
समाचार बाहिरिएपछि रोकियो दोहन, अनुगमनअघि लिक पुर्ने र माटो हाल्ने प्रयास

वीरगञ्ज २० बैशाख
पर्साको सुगीभार खोलाबाट भइरहेको अवैध उत्खनन कार्य अन्ततः रोकिएको छ। डिभिजन वन कार्यालय पर्सा र गादीमाई साझेदारी वन उपभोक्ता समूहबीच मिलेमतोको आशंकाबीच एक्साभेटर प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन भइरहेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि सम्बन्धित निकाय दबाबमा परेको हो।
चार दिनदेखि निरन्तर रूपमा दर्जनौँ ट्र्याक्टरमार्फत ढुंगा, गिट्टी र बालुवा ओसार्ने कार्य भइरहेको थियो। खोलादेखि वनशक्ति माई क्षेत्रसम्म देखिएका सवारीसाधनका चक्काका स्पष्ट लिकहरूले अवैध गतिविधिको संकेत दिइरहेका थिए।
तर, समाचार सार्वजनिक भएसँगै सम्भावित अनुगमनलाई लक्षित गर्दै प्रमाण मेटाउने प्रयास भएको आरोप लागेको छ। स्रोतका अनुसार गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको निर्देशनमा सात जना ज्यामी परिचालन गरी चक्काको लिक पुरिने, धसेका स्थानमा माटो हालिने तथा माथिबाट सुक्खा पात ओच्छ्याउने काम गरिएको थियो।
यसैबीच, डिभिजनल वन अधिकृत मन्जुर अहमद नेतृत्वको अनुगमन टोली आउने तयारी रहेको जनाइएको छ। अनुगमनकै क्रममा विषयलाई दबाउने उद्देश्यले केही सञ्चारकर्मीलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास भएको आरोपसमेत उब्जिएको छ, यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।





