ऊर्जा क्षेत्रको नेतृत्वका लागि बलराम खतिवडाको टोली घोषणा, सचिव पदमा कृष्णप्रसाद घिमिरेको बलियो उम्मेदवारी
ऊर्जा क्षेत्रको नेतृत्वका लागि बलराम खतिवडाको टोली घोषणा, सचिव पदमा कृष्णप्रसाद घिमिरेको बलियो उम्मेदवारी

काठमाडौं २८ जेष्ठ
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को २४औँ वार्षिक साधारणसभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा सशक्त र अनुभवी टोली घोषणा गरिएको छ। ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय उद्यमी, लगानीकर्ता तथा व्यवसायीहरूको सहभागिता रहेको उक्त टोलीले निजी क्षेत्रको ऊर्जा विकास, लगानी प्रवर्द्धन तथा नीतिगत सुधारलाई प्रमुख एजेन्डा बनाएको जनाएको छ।
टोली घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार तथा वर्तमान महासचिव बलराम खतिवडाले IPPAN लाई अझ प्रभावकारी, व्यवसायमैत्री र ऊर्जा क्षेत्रको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आफूहरू निर्वाचनमा होमिएको बताए।
उनले भने, “नेपालको ऊर्जा क्षेत्र अहिले महत्वपूर्ण मोडमा छ। निजी क्षेत्रका लगानीकर्ताका समस्या समाधान, विद्युत् उत्पादन वृद्धि, प्रसारण लाइन विस्तार तथा ऊर्जा व्यापारका अवसरलाई संस्थागत रूपमा अगाडि बढाउन सक्षम नेतृत्व आवश्यक छ। हाम्रो टोली अनुभव, ऊर्जा र प्रतिबद्धताको समिश्रण हो। सम्पूर्ण सदस्यहरूको साथ र विश्वासका आधारमा IPPAN लाई अझ बलियो संस्थाका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता छ।”
घोषित प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा बलराम खतिवडा, उपाध्यक्ष पदमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, ई. दीपक पौडेल तथा महिला उपाध्यक्षमा सिर्जना खड्का रहेका छन्। त्यसैगरी महासचिव पदमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन्।
यसैगरी सचिव पदका उम्मेदवारहरूमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, ई. वीरेन्द्रबहादुर मल्ल, ईशा श्रेष्ठ तथा महिला सचिवमा सङ्गीता धमला रहेका छन्। कोषाध्यक्ष पदमा ई. मिथुन पौडेल उम्मेदवार छन्। सदस्य पदका उम्मेदवारहरूमा सोमनाथ कडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त तथा प्रदीप ओली रहेका छन्।
विशेषगरी सचिव पदका उम्मेदवार कृष्णप्रसाद घिमिरे ऊर्जा क्षेत्रका सक्रिय उद्यमी तथा विकास हाइड्रोपावर,बुढिगण्डकी हाईड्रोपावर र साङ्ग्रीला हाईड्रोपावरको प्रवन्ध निर्देशक तथा सफल व्यवसायीका रूपमा परिचित छन । ऊर्जा उत्पादन तथा निजी क्षेत्रको लगानी विस्तारका विषयमा लामो समयदेखि सक्रिय घिमिरेले संस्थाको संगठनात्मक क्षमता अभिवृद्धि र सदस्यहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उनले भने, “IPPAN केवल ऊर्जा उत्पादकहरूको संस्था मात्र होइन, नेपालको ऊर्जा भविष्य निर्माण गर्ने साझा मञ्च हो। सदस्यहरूको हकहित संरक्षण, सरकारसँग प्रभावकारी समन्वय, लगानीमैत्री वातावरण निर्माण र ऊर्जा क्षेत्रका चुनौतीहरूको समाधानका लागि हामी प्रतिबद्ध छौं। निजी क्षेत्रले भोगिरहेका समस्याहरूलाई नीतिगत तहमा उठाएर समाधान गर्ने दिशामा हाम्रो टोलीले प्रभावकारी भूमिका खेल्नेछौ ।”
घिमिरेले ऊर्जा क्षेत्रलाई राष्ट्रको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै आगामी दिनमा निजी क्षेत्रको विश्वास बढाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
IPPAN को आगामी निर्वाचनलाई ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। पछिल्ला वर्षहरूमा विद्युत् उत्पादन उल्लेख्य रूपमा बढे पनि प्रसारण लाइन, विद्युत् खरिद–बिक्री, लगानी सुरक्षा तथा नीतिगत स्थायित्वजस्ता विषय अझै चुनौतीका रूपमा रहेका छन्। यस्ता चुनौती समाधान गर्न सक्षम र दूरदर्शी नेतृत्व आवश्यक रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्।
यही सन्दर्भमा बलराम खतिवडाको नेतृत्वमा सार्वजनिक गरिएको टोलीलाई अनुभव, व्यावसायिक क्षमता, संस्थागत ज्ञान र ऊर्जा क्षेत्रको व्यापक प्रतिनिधित्व भएको समूहका रूपमा हेरिएको छ। वरिष्ठदेखि युवा पुस्तासम्मका उद्यमीहरूको सहभागिताले टोलीलाई थप सन्तुलित र प्रभावकारी बनाएको विश्लेषण गरिएको छ।
आगामी निर्वाचनमार्फत चयन हुने नयाँ नेतृत्वले निजी क्षेत्रको ऊर्जा लगानीलाई थप सुरक्षित र आकर्षक बनाउने, जलविद्युत् आयोजनाको विकासलाई गति दिने तथा नेपाललाई ऊर्जा निर्यात गर्ने राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा बलराम खतिवडा नेतृत्वको टोली र सचिव पदका उम्मेदवार कृष्णप्रसाद घिमिरेप्रति ऊर्जा क्षेत्रभित्र विशेष चासो र अपेक्षा देखिएको छ।






