जनकपुरधामको जानकी मन्दिरमा भव्य योग कार्यक्रम सम्पन्न
१२औं अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्वसन्ध्यामा ६०० भन्दा बढीको सहभागिता

जनकपुरधाम ५ असार
१२ औं अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्वसन्ध्यामा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले जनकपुरधाम उप-महानगरपालिका तथा श्री जानकी मन्दिरको सहकार्यमा जनकपुरधाम स्थित प्रसिद्ध श्री जानकी मन्दिर परिसरमा भव्य योग कार्यक्रम आयोजना गरेको छ। “स्वस्थ आयुका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ६०० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दूतावासले आफ्नो कन्सुलर क्षेत्रभित्र सञ्चालन गरिरहेको कार्यक्रम शृङ्खला अन्तर्गत यो पाँचौं कार्यक्रम हो। कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, योग साधक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री श्री कृष्ण प्रसाद यादवले योगले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै दैनिक जीवनमा योग अभ्यासलाई अपनाउन सबैलाई आग्रह गर्नुभयो। उहाँले पवित्र जानकी मन्दिर परिसरमा यस्ता कार्यक्रम आयोजना गरिएकोमा भारतको महावाणिज्य दूतावासको प्रशंसा गर्नुभयो।
त्यसैगरी, मधेश प्रदेश सभाका सभामुख श्री राम आशिष यादव तथा जनकपुरधाम उप-महानगरपालिकाका मेयर श्री मनोज कुमार साह विशिष्ट अतिथिको रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत श्री देवी सहाय मीनाले नियमित योग अभ्यासले दीर्घकालीन स्वास्थ्य, एकाग्रता तथा आन्तरिक शान्ति प्रदान गर्ने बताउनुभयो। उहाँले स्वस्थ जीवनशैली र सामूहिक कल्याणका लागि योगलाई जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अन्त्य प्रशिक्षित प्रशिक्षक हरूको नेतृत्वमा सामूहिक योग अभ्यास सहित गरिएको थियो। कार्यक्रममा “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने सन्देशलाई विशेष रूपमा प्रवाह गरिएको थियो।





