जेष्ठ नागरिक संघ पर्साद्वारा २३ औँ राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो

जेष्ठ नागरिक संघ पर्साद्वारा २३ औँ राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो

वीरगन्ज, १५ असार
जेष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगन्जमा २३ औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। “जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यस वर्षको धान दिवस मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलम ले कृषि क्षेत्रको विकास तथा धान उत्पादनमा आधुनिक एवं जलवायु मैत्री प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले महानगरपालिका किसानलाई प्रोत्साहन गर्न र कृषि उत्पादकत्व वृद्धि गर्न सधैं प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहरा ले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न अनुकूलित प्रविधिको प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्मा ले परम्परागत चाडपर्व र कृषिको महत्व नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम ले कृषि क्षेत्रको व्यावसायीकरण तथा स्वदेशी उत्पादनको प्रवर्द्धनबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो।

असार १५ लाई नेपाली समाजमा धान रोपाइँको उत्सव तथा दही चिउरा खाने विशेष पर्वका रूपमा मनाइन्छ। जेष्ठ नागरिकहरूको अनुभव र आधुनिक प्रविधिको संयोजनबाट कृषिमा आत्मनिर्भर बन्न सकिने सन्देश कार्यक्रमले दिएको आयोजकले बताएका छन्।

कार्यक्रममा जेष्ठ नागरिक समाजका अगुवा, स्थानीय बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा दही चिउरा ग्रहण गर्दै शुभकामना आदानप्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।