ईप्रका सिम्रौनगढका बिवादित प्रहरी निरीक्षक साहको अवैध असुली अझै जारी, प्रहरी प्रधान कार्यालय मौन !

अजय चौरसिया /
वीरगंज २७ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प्रशासनकै मिलोमतोमा निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न सञ्चारमाध्यमहरुमा लगातार समाचार प्रकाशन हुँदा समेत प्रहरी प्रधान कार्यालय काठमाडौं र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ध्यान नजाँदा स्थानियहरु आश्चर्यमा परेका छन् ।
बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले प्रहरी कार्यालयमै तस्करका नाईकेहरुलाई बोलाई बार्गेनिङ्ग गरी तस्करीको लाईन दिएको समाचार स्रोतले जनाएको छ ।
देशको सम्पूर्ण ध्यान विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहश्रको उद्धार, राहत र पुनःस्थापनातर्फ केन्द्रित भइरहेका बेला बाराको सीमावर्ती क्षेत्र सिम्रौनगढका प्रहरी निरीक्षक साहले आफ्नो दुनो सोझ्याउदै प्रहरी संगठनलाई बदनाम गर्नमा तल्लिन देखिएको आरोप लाग्न थालेको छ ।
बिगत केही वर्ष पहिला सर्लाहीमा भएको ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको विवादास्पद मृत्यु (इन्काउन्टर) प्रकरणमा मुछिएका बिवादित प्रहरी निरीक्षक साहले नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको धाक लगाउदै प्रहरी संगठनलाई बदनाम गराउदै आएको बताईन्छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थित लखनदेही खोला नजिकै प्रहरी निरीक्षक साह सहित अन्य प्रहरी कर्मचारीहरु माथि नियोजित रुपमा “फेक इन्काउन्टर” गरेको आरोप लागे सँगै सम्मानित सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । यो घटना त प्रतिनिधि पात्रको रुपमा मात्र हो, यस्ता थुप्रै बिवादमा परेका प्रहरी निरीक्षक साहले तस्करी वापत असुली गरेका अवैध रकमबाट प्रहरी संगठनको माथिल्लो निकायसम्म भाग पु¥याउने गरेको प्रहरी स्रोतको दाबी रहेको छ ।
तस्करका नाईकेहरु सँग मेलमिलाप गरी तस्करी कार्यलाई प्रश्रय दिएको तथा प्रहरी संगठनको निति निर्देशनलाई धोती लगाएको भन्दै बारम्बार विभिन्न सञ्चारमाध्यमहरुमा तस्करीको भिडियो सहित समाचारहरु प्रकाशन हुँदा प्रहरी निरीक्षक साहले “जबसम्म पूर्व आईजिपी सर्वेन्द्र खनाल सरको आर्शिवाद ममाथि रहन्छ, तब सम्म कसैले मेरो केही बिगार्न सक्दैन, अहिलेको आईजीपीसाब पनि पूर्व आईजीपी खनालसरकै मान्छे हुन्, मलाई यतिकै सिम्रौनगढको जिम्मेवारी पाएको छैन्, समाचार आउदैमा मलाई केही हुँदैन, जलाई जति लेख्नु छ लेख, मलाई फरक पर्दैन भनि” घुर्की लगाउने गरेको उनको भनाईलाई उद्धृत गर्दै समाचार स्रोतले जनाएको छ ।
केही महिना पहिले नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले बारा, पर्साको सिमावर्ती नाकाहरुमा पुगी प्रत्यक्ष रुपमा तस्करी भईरहेको देखे पछि सिमाक्षेत्रमा निगरानी बढाउन तथा तस्करी रोक्न निर्देशन दिएको भए पनि सो निर्देशनलाई सिम्रौनगढका प्रहरी निरीक्षक साहले चुनौती दिदै केही रकमको लोभमा चोरी तस्करी कार्यलाई बढावा दिईरहेको प्रहरी स्रोतको भनाई रहेको छ ।
बारा जिल्लाको अन्य सिमावर्ती क्षेत्रहरु भन्दा सिम्रौनगढ नाका तस्करहरुको लागि भरपर्दो र सुरक्षित रहेको भन्दै तस्करहरु पनि केही बढी महिनवारी बुझाएर भए पनि सोही नाकालाई प्रयोग गर्न मन पराईरहेको एक तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
प्रहरी निरीक्षक साहले आफै तस्करहरु सँग मरमोलाई गरी आफ्नो र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओम प्रसाद अधिकारीको नाममा समेत रकम असुली गरिराखेको स्रोतले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहत पर्ने काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट तस्करी गर्ने तस्करहरुलाई प्रहरी निरीक्षक साहले कार्यालयमै बोलाई “डिआईजीसाबको भाग यति र मेरो भाग यति जम्मा गर्नु, जम्मा गर्नेलाई राती ११ बजे देखि बिहान ४ बजे भित्रमा नाका कटाई सक्नु पर्ने शर्त सहित लाईन दिने गरेको” कपडाको काम गर्ने एक तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी तथा आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक प्रति तस्कर १० हजार देखि ५० हजार गरी ७ देखि १० लाख सम्म प्रहरी निरीक्षक साहले बुझने गरेको तथा डिआईजी अधिकारीको भागमा मासिक ४ देखि ६ लाख सम्म असुली गरी तस्करीको साम्राज्य विस्तार गर्ने कार्यमा प्रहरी निरीक्षक साह तल्लिन रहेको ती स्रोतको भनाई रहेको छ ।
सो नाका भएर भारतबाट अरविन्दले हार्डवेयर, रजनीगन्धा र कस्मेटिकको तस्करी गरे वापत ५० हजार, शत्रुधन र सन्दिपले चल्लाको तस्करी गरे वापत ६० हजार, भोला, मास्टर, सन्दीप, राकेश र अरबिन्दले कपडाको तस्करी गरे वापत १ लाख ९० हजार प्रहरी निरीक्षक साहलाई बुझाई तस्करीको लाईन लिएको समाचार स्रोतको दाबी रहेको छ । नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु प्रहरी प्रशासनको मिलोमतोमा भारततर्फ निर्वाध रुपमा तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ । यतिमात्र कहाँ हो र, देशभरी नै लागु औषध विरुद्ध अभियान चलिरहेको भए पनि सिम्रौनगढ नाकाबाट लागु औषधको कुख्यात तस्कर राजेशले प्रहरी निरीक्षक साह सँग साठगाठ गरी लागुऔषध गाँजाको तस्करी निर्वाध रुपमा गरिरहेको समाचार स्रोतले जनाएको छ ।
प्रहरीको काम शान्ति सुरक्षा, अमन चयन कायम गर्ने तथा अवैध कारोबारलाई रोक्ने भए पनि प्रहरी निरीक्षक साहले अवैध कारोबारीहरुबाट रकमको लोभमा तस्करी कार्यहरुलाई बढावा दिईरहेको भए पनि यस तर्फ प्रहरी प्रधान कार्यालय तथा गृहमन्त्रालयको ध्यान पुग्न आवश्यक रहेको स्थानिय सचेत नागरिकहरुको भनाई रहेको छ ।






