जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग
जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग

प्रेमचन्द्र झा /रौतहट १७ असोज
मधेश प्रदेशका पूर्वअर्थमन्त्री जितेन्द्र यादव (सुनिल यादव) को गाउँको मुख्य बाटोमा निर्माण गरिएको आकर्षक ‘इन्द्र सरोवर’ लाई पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयस्तरबाट माग उठेको छ।
स्थानीयवासी तथा शुभेच्छुकहरूले रमणीय दृश्यसहितको उक्त सरोवरलाई संरक्षण, सौन्दर्यीकरण तथा आवश्यक पूर्वाधार विकास गरी मधेश प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। स्थानीय तहमा यसलाई माया र आत्मीयताका साथ ‘पम्पा सरोवर’ भनेर समेत सम्बोधन गर्ने गरिएको बताइएको छ।
सरोवरको प्राकृतिक तथा भौगोलिक सौन्दर्यलाई व्यवस्थित रूपमा उपयोग गर्न सके आन्तरिक पर्यटक आकर्षित गर्नुका साथै स्थानीय आर्थिक गतिविधि र रोजगारीका अवसरसमेत विस्तार गर्न सकिने स्थानीयको भनाइ छ।
यसैबीच, सरोवरको संरक्षण र विकासका लागि मधेश प्रदेश सरकारसँग विशेष पहल गर्न स्थानीयवासीले आग्रह गरेका छन्। सरोवर परिसरमा आवश्यक पूर्वाधार निर्माण, सरसफाइ, हरियाली प्रवर्द्धन, पर्यटकमैत्री संरचना तथा मनोरञ्जनका आधारभूत सुविधा विस्तार गर्दै यसलाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने माग गरिएको छ।
स्थानीयको मागअनुसार उक्त सरोवरको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय महत्त्वको अध्ययन गरी राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अघि बढाउनसमेत मधेश प्रदेश सरकारलाई आग्रह गरिएको छ।
स्थानीयवासीका अनुसार सरकारी निकाय, स्थानीय तह र समुदायबीच समन्वय हुन सके ‘इन्द्र सरोवर’ मधेश प्रदेशको नयाँ पर्यटकीय पहिचान बन्न सक्ने सम्भावना छ।






