राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा २०८२ पुस २५ गते काठमाडौँमा आयोजना हुने

राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा २०८२ पुस २५ गते काठमाडौँमा आयोजना हुने

काठमाडौँ — नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राख्दै गठन हुन लागेको राष्ट्रिय एकता दल ले आफ्नो औपचारिक घोषणा सभा आगामी २०८२ साल पुस २५ गते शुक्रबार काठमाडौँमा आयोजना गर्ने भएको छ।

दलद्वारा जारी विज्ञप्तिअनुसार राजनीति केवल सत्ताको अभ्यास नभई राष्ट्रको इतिहास, संस्कृति र भविष्यप्रतिको गम्भीर उत्तरदायित्व भएको मान्यताका साथ दलको स्थापना गरिएको हो। संघीय हिन्दु गणतन्त्रको अवधारणा, नेपाली मौलिक धर्म–संस्कृति तथा सभ्यताको संरक्षण, साथै राष्ट्रिय एकताको सुदृढीकरणलाई दलको मूल ध्येयका रूपमा अघि सारिएको छ।

दलले यी मूल्यहरू कुनै एक समुदाय वा वर्गमा सीमित नभई नेपालको ऐतिहासिक निरन्तरता, सामाजिक सन्तुलन र राष्ट्रिय आत्माको संरक्षणसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको जनाएको छ। वर्तमान राजनीतिक, सामाजिक तथा राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै वैकल्पिक राष्ट्रवादी राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यसहित औपचारिक घोषणा सभा गर्न लागिएको दलको भनाइ छ।

लोकतान्त्रिक व्यवस्थामा वैचारिक भिन्नता स्वाभाविक भए पनि राष्ट्रिय हितका साझा विषयमा राजनीतिक दलहरूबीच आपसी सम्मान, संवाद र सहकार्य अपरिहार्य रहेको दलको धारणा रहेको छ। यही सन्देश प्रवाह गर्न विभिन्न राजनीतिक दलका नेतृत्व, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको छ।

राष्ट्रिय एकता दलले उक्त अवसरमा गरिमामय उपस्थिति वा शुभकामनाले राजनीतिक शिष्टाचार, लोकतान्त्रिक परिपक्वता र राष्ट्रिय एकताको सन्देश थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा उपस्थित हुन असमर्थ व्यक्तिहरूबाट प्राप्त शुभकामनालाई पनि उत्तिकै महत्वपूर्ण र प्रेरणादायी ठानिने दलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।