जनमत पार्टीको जिताउ अभियानसँगै क्षेत्र नं–३ मा चुनावी माहोल तातेको
जनमत पार्टीको जिताउ अभियानसँगै क्षेत्र नं–३ मा चुनावी माहोल तातेको

सप्तरी २९ माघ
सप्तरी जिल्ला संसदीय निर्वाचन क्षेत्र नं–३ अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नं–९ पत्थरगाडामा जनमत पार्टीको चुवी प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रामप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्र नं–३ का प्रत्यासी उम्मेदवार सुरेन्द्र मधेसी तथा समानुपातिक तर्फकी दलित महिला उम्मेदवार अनिता खंगको जित सुनिश्चित गर्ने उद्देश्यले व्यापक छलफल र रणनीति तय गरिएको थियो।
कार्यक्रममा क्षेत्र नं–३ अन्तर्गत रहेका सम्पूर्ण पालिका अध्यक्ष, वडा अध्यक्षहरू, जिल्ला तहदेखि केन्द्रसम्मका नेता–नेतृत्वकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै संगठन सुदृढीकरण, घरदैलो अभियानको प्रभावकारिता तथा मतदाता शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै इन्जिनियर सञ्जीव नारायण यादवले क्षेत्र नं–३ को समग्र विकास, उन्नति र प्रगतिका लागि जनमत पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले विगतका निर्वाचित प्रतिनिधिहरूले जनअपेक्षा अनुसार विकास गर्न नसकेको आरोप लगाउँदै भने, “अघिल्ला चुनावमा जितेका सांसदहरूले कति विकास गरे भन्ने कुरा जनतालाई प्रस्ट थाहा छ। क्षेत्रले अपेक्षित पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन।”
उनले नत दिनेश यादव लगायत यस क्षेत्रबाट निर्वाचित अन्य सांसदहरूलाई समेत जनविकासीय काममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। “जनताको भरोसा जितेर संसद पुगे पनि जनताको समस्याप्रति गम्भीर नदेखिनु दुःखद पक्ष हो,” उनले भने।
कार्यक्रमका अन्य वक्ताहरूले पनि क्षेत्र नं–३ मा बेरोजगारी, कृषि समस्याहरू, सिँचाइ अभाव, सडक पूर्वाधारको कमजोर अवस्था र शिक्षा–स्वास्थ्य सेवामा देखिएको कमीलाई मुख्य चुनावी मुद्दाका रूपमा उठाएका थिए। उनीहरूले जनमत पार्टीले मात्रै यी समस्याहरूको दिगो समाधान दिन सक्ने दाबी गरे।
हाल क्षेत्र नं–३ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। विभिन्न दलहरूले घरदैलो अभियान, प्रशिक्षण कार्यक्रम र कार्यकर्ता भेला तीव्र बनाएका छन्। जनमत पार्टीले संगठनात्मक एकता, युवा तथा दलित समुदायको सहभागिता र स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा आफूलाई बलियो रूपमा उभ्याउने रणनीति अघि सारेको देखिन्छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रामप्रसाद मण्डलले सबै नेता–कार्यकर्ता एकजुट भएर जनमतको जित सुनिश्चित गर्न आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आह्वान गरे। उनले भने, “क्षेत्र नं–३ को भविष्य अब जनताको हातमा छ। परिवर्तनको चाहना राख्ने हरेक मतदाता जनमतको पक्षमा उभिनुपर्छ।”
यस प्रशिक्षण कार्यक्रमले क्षेत्र नं–३ को चुनावी माहोललाई थप तातेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। आगामी निर्वाचनमा जनमत पार्टीले कस्तो परिणाम ल्याउने हो भन्ने विषयले अहिले स्थानीय राजनीति निकै चासोको केन्द्रमा परेको छ।






