“काम गर्ने उद्देश्यका साथ राजनीतिमा आएको हुँ, युवाका लागि स्पष्ट योजना र नयाँ भिजन ल्याएको छु” – रुङटा
“काम गर्ने उद्देश्यका साथ राजनीतिमा आएको हुँ, युवाका लागि स्पष्ट योजना र नयाँ भिजन ल्याएको छु” - रुङटा

वीरगंज ७ फागुन
वीरगञ्ज महानगरपालिका–८ अन्तर्गत गहवा क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङटाले व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। चुनावी माहोल तातिँदै जाँदा आयोजित उक्त कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
घरदैलो कार्यक्रम वडा नम्बर ८ का बुथ सभापति राजेन्द्र श्रेष्ठको नेतृत्वमा सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय टोलबासी, युवायुवती, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
घरदैलोका क्रममा उम्मेदवार रुङटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्दै समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।
उम्मेदवार रुङटा भने,“म काम गर्ने उद्देश्यका साथ राजनीतिमा आएको हुँ। युवाहरूका लागि स्पष्ट योजना र नयाँ भिजन लिएर आएको छु। हरेक निर्णय र विकास निर्माणका काममा जनतासँग हातेमालो गर्दै अघि बढ्नेछु। जनता नै मेरो प्रेरणाको स्रोत हुन्। विशेषगरी युवाशक्तिलाई उद्यमशीलता, स्वरोजगार र सीपमूलक तालिमतर्फ प्रेरित गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्ने मेरो लक्ष्य हो। क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर परिणाममुखी काम गर्नेछु।”
उनले क्षेत्र नम्बर १ का जनताले आफूलाई मतदान गरी विजयी बनाउनेमा पूर्ण विश्वास व्यक्त गर्दै जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ ग्रहण गर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, सुरेन्द्र लामिछाने, दिलिपराज कार्की, रामनिवास यादव लगायत ने.वि.संघ र नेपाल तरुण संघका नेताहरू, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
घरदैलो कार्यक्रममार्फत उम्मेदवार रुङटाले स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने अवसर पाएको बताउँदै आगामी दिनमा जनमुखी र पारदर्शी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि विकास, रोजगारी र पूर्वाधार सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।






