सिन्डिकेटविरुद्धको मत, संस्थागत सुधारको अपेक्षा र ७७४ मतदाताको निर्णयले तय गर्नेछ संघको नयाँ नेतृत्व
सिन्डिकेटविरुद्धको मत, संस्थागत सुधारको अपेक्षा र ७७४ मतदाताको निर्णयले तय गर्नेछ संघको नयाँ नेतृत्व

काठमाडौं २४ जेष्ठ
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आइतबार हुन लागेको निर्वाचनले यतिबेला सम्पूर्ण वैदेशिक रोजगार क्षेत्रको ध्यान तानेको छ। लामो समयदेखि संघभित्र देखिएको नेतृत्व विवाद, पदाधिकारीबीचको असमझदारी, बहुमत पदाधिकारीहरूको सामूहिक राजीनामा, कानुनी लडाइँ र संस्थागत अन्योलपछिको यो निर्वाचनलाई संघको मात्र नभई समग्र वैदेशिक रोजगार क्षेत्रको भावी दिशा निर्धारण गर्ने निर्णायक अवसरका रूपमा हेरिएको छ।
संघको नयाँ नेतृत्व चयनका लागि ७७४ जना व्यवसायी मतदाता चुनावी प्रक्रियामा सहभागी हुँदैछन्। उनीहरूले अध्यक्षसहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन्। अध्यक्ष पदमा पूर्व महासचिव मेघनाथ भुर्तेल, पूर्व प्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री तथा पूर्व प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ चुनावी मैदानमा उत्रिएका छन्। तीनै उम्मेदवारले आफूलाई व्यवसायीको हित, संस्थागत सुधार र वैदेशिक रोजगार क्षेत्रको पुनर्संरचनाको पक्षधरका रूपमा प्रस्तुत गरिरहेका छन्।
तर चुनावी समीकरण, व्यवसायीको मनोविज्ञान, संघभित्रको पछिल्लो घटनाक्रम र नेतृत्व क्षमताको मूल्याङ्कन गर्दा मेघनाथ भुर्तेल नेतृत्वको लोकतान्त्रिक प्यानललाई बलियो दाबेदारका रूपमा हेरिएको छ। विशेषगरी पछिल्लो समय संघभित्र विकसित घटनाक्रमले चुनावलाई केवल प्यानलको प्रतिस्पर्धा नभई व्यक्तित्व, क्षमता र संस्थागत दृष्टिकोणको परीक्षणका रूपमा रूपान्तरण गरेको व्यवसायीहरू बताउँछन्।
संघको पछिल्लो इतिहासलाई हेर्दा निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङको कार्यकाल अझै बाँकी रहँदै गर्दा उनलाई नेतृत्वबाट हटाउन गरिएको प्रयासले संघभित्र गम्भीर विभाजन सिर्जना गरेको थियो। त्यस घटनापछि व्यवसायी समुदाय दुई धारमा विभाजित भएको देखिएको थियो। धेरै व्यवसायीले उक्त घटनालाई संस्थागत प्रक्रिया भन्दा पनि सीमित समूहको शक्ति प्रदर्शन र सिन्डिकेट मानसिकताको परिणामका रूपमा व्याख्या गरेका छन्।
यही कारण अहिलेको निर्वाचनमा ठूलो संख्यामा व्यवसायीहरूले आफूलाई सिन्डिकेटविरोधी धारमा उभिएको दाबी गर्ने नेतृत्वतर्फ आकर्षित भएको देखिन्छ। व्यवसायी वृत्तमा मेघनाथ भुर्तेललाई त्यही धारको प्रतिनिधि पात्रका रूपमा हेरिन थालेको चर्चा छ। भुर्तेलले संघभित्रको शक्ति संघर्षभन्दा पनि संस्थागत सुधार, व्यवसायीको सम्मान र नीतिगत समाधानलाई प्राथमिकतामा राख्दै आएको धारणा उनका समर्थकहरूको छ।
भुर्तेल लामो समयदेखि संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन्। पूर्व महासचिवका रूपमा उनले संघका गतिविधि, सरकारी निकायसँगको समन्वय, वैदेशिक रोजगार व्यवसायका कानुनी तथा प्रशासनिक चुनौतीहरूलाई नजिकबाट बुझेको अनुभव राख्छन्। व्यवसायीहरूका अनुसार अहिले संघलाई केवल नारामुखी नेतृत्व नभई मन्त्रालय, विभाग, दूतावास तथा नियामक निकायसँग प्रभावकारी संवाद गर्न सक्ने नेतृत्व आवश्यक छ।
“सशक्त संघ, सुरक्षित व्यवसाय र समृद्ध वैदेशिक रोजगार क्षेत्र” भन्ने नारासहित चुनावी मैदानमा रहेका भुर्तेलले डिमाण्ड प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने, श्रम स्वीकृतिलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने, नयाँ श्रम गन्तव्य देशको खोजी गर्ने, जापान र युरोपजस्ता सम्भावनायुक्त बजारमा पहुँच विस्तार गर्ने तथा व्यवसायमैत्री कानुनी वातावरण निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
व्यवसायीहरूका अनुसार अहिले वैदेशिक रोजगार क्षेत्र अनेक चुनौतीबाट घेरिएको छ। डिमाण्ड प्रमाणीकरणमा हुने ढिलाइ, श्रम स्वीकृतिको जटिलता, विदेशी रोजगार बजारमा बढ्दो प्रतिस्पर्धा, सरकारी निगरानीको कठोरता तथा व्यवसायीप्रति नकारात्मक धारणा जस्ता विषयले व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ। यस्तो अवस्थामा राज्यसँग संवाद गरेर समाधान निकाल्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनीहरूको भनाइ छ।
भुर्तेल नेतृत्वको लोकतान्त्रिक प्यानलमा प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रबिन मेगाले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमरप्रकाश तिवारी, सचिवमा राजकाजी भोलान (राज लामा) तथा कोषाध्यक्षमा विद्यालक्ष्मी बज्राचार्य उम्मेदवार रहेका छन्। सदस्य पदमा राजेश मैनाली, कैलाश पाठक, देउबहादुर गौतम (सविन), टंकप्रसाद पंगेनी, गीता राउत, भिममाया कार्की, दिक्षा थपलिया, रोशना निरौला, दीपक कुमार र हिरालाल गौडेल चुनावी मैदानमा छन्।
यता स्वतन्त्र समूहका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हरिबहादुर पाण्डे क्षेत्री पनि बलिया प्रतिस्पर्धी मानिएका छन्। उनले संघलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने, स्वतन्त्र व्यवसायीको साझा संस्था निर्माण गर्ने, नयाँ श्रम बजार विस्तार गर्ने तथा संघको गरिमा पुनःस्थापित गर्ने एजेण्डा अघि सारेका छन्। पाण्डे नेतृत्वको समूहले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरिरहेको छ।
त्यसैगरी एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको तर्फबाट डिकबहादुर खत्री ‘कुमार’ पनि अध्यक्ष पदका प्रत्याशी छन्। उनले व्यवसायीको हकहित संरक्षण, नीतिगत सुधार तथा सरकारी निकायसँग प्रभावकारी संवादलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्। खत्री पक्षले पनि संघलाई नयाँ ढंगले अघि बढाउने दाबी गर्दै आएको छ।
यद्यपि यसपटकको चुनावमा व्यवसायीहरू प्यानलभन्दा पनि व्यक्तित्व केन्द्रित भएको देखिन्छ। विगतका निर्वाचनमा राजनीतिक झुकाव र समूहगत समीकरण निर्णायक बन्ने गरेको भए पनि अहिले धेरै व्यवसायीहरूले नेतृत्व क्षमता, पहुँच, अनुभव, विश्वसनीयता र समस्या समाधानको क्षमता हेरेर मतदान गर्ने मनस्थितिमा रहेको बताइन्छ।
निर्वाचनको अर्को महत्वपूर्ण पक्ष सिनामंगल वैदेशिक रोजगार एकता समूहको भूमिका हो। करिब तीन सय व्यवसायीको प्रभाव रहेको मानिने उक्त समूहले अन्तिम समयमा लिने निर्णयले चुनावी परिणाम प्रभावित पार्न सक्ने आकलन गरिएको छ। यस्तै निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन पनि निर्णायक बन्न सक्ने चर्चा व्यवसायी वृत्तमा व्यापक रूपमा भइरहेको छ। गुरुङले सार्वजनिक रूपमा कुनै उम्मेदवारलाई समर्थन नगरे पनि उनको धारणा र निकटताको प्रभाव चुनावी परिणाममा देखिन सक्ने अनुमान गरिएको छ।
वैदेशिक रोजगार क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार हो। वार्षिक खर्बौं रुपैयाँ रेमिट्यान्स भित्र्याउने यस क्षेत्रसँग लाखौं नेपाली परिवारको भविष्य जोडिएको छ। त्यसैले संघको नेतृत्व केवल व्यवसायीको संगठनात्मक नेतृत्व मात्र नभई वैदेशिक रोजगार क्षेत्रको नीतिगत भविष्यसँग पनि जोडिएको विषय हो।
आइतबार हुने मतदानपछि संघले नयाँ नेतृत्व पाउनेछ। तर परिणाम जे आए पनि नयाँ नेतृत्वले व्यवसायीको विश्वास पुनःस्थापित गर्नु, संघभित्रको विभाजन अन्त्य गर्नु, संस्थागत एकता कायम गर्नु तथा राज्यसँग समन्वय गरेर व्यवसायी र श्रमिक दुवैको हित सुनिश्चित गर्नु सबैभन्दा ठूलो चुनौती हुनेछ।
अहिले व्यवसायीहरू एउटै प्रश्नको उत्तर खोजिरहेका छन्—संघलाई संकटबाट बाहिर निकाल्ने, सिन्डिकेट मानसिकताको अन्त्य गर्ने र वैदेशिक रोजगार व्यवसायलाई सम्मानित तथा व्यवस्थित क्षेत्रका रूपमा स्थापित गर्ने नेतृत्व आखिर कसले दिन सक्छ ? यसको अन्तिम उत्तर अब ७७४ मतदाताको मतपेटिकाबाट बाहिर आउनेछ।





