राष्ट्रिय आर्थिक गणना–२०८२ मा बाराको फड्को : ८१ प्रतिशत काम सम्पन्न, व्यवसायीको उत्साहजनक साथ
राष्ट्रिय आर्थिक गणना–२०८२ मा बाराको फड्को : ८१ प्रतिशत काम सम्पन्न, व्यवसायीको उत्साहजनक साथ

बारा, १२ जेठ
राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा हालसम्म करिब ८१ प्रतिशत स्थलगत तथ्याङ्क संकलन कार्य सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दास का अनुसार जिल्लाभर खटिएका गणक तथा सुपरिवेक्षकहरूको सक्रियता तथा व्यवसायीहरूको सकारात्मक सहयोगका कारण अपेक्षाभन्दा तीव्र गतिमा गणना कार्य अगाडि बढिरहेको छ।
नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालय ले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन गरेको दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत देशभर २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क संकलन भइरहेको छ।
जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार आर्थिक गणना कुनै निश्चित क्षेत्रमा सञ्चालन भएका वस्तु उत्पादन तथा सेवा प्रदायक प्रतिष्ठानहरूको विवरण संकलन, तथ्याङ्क उत्पादन र वितरणसम्मको समग्र प्रक्रिया हो। नेपालले पहिलो पटक वि.सं. २०७५ मा आर्थिक गणना सम्पन्न गरेको थियो भने अहिले दोस्रो संस्करण सञ्चालनमा रहेको छ।
उनका अनुसार आर्थिक गणनाबाट उद्योग, व्यापार, रोजगारी, लगानी तथा आर्थिक गतिविधिको वास्तविक अवस्था उजागर हुने भएकाले नीति निर्माण, विकास योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान मूल्याङ्कन गर्न महत्वपूर्ण आधार तयार हुन्छ।
सबै विवरण गोप्य रहने आश्वासन
गणनामा सहभागी व्यवसायीहरूले उपलब्ध गराएको सम्पूर्ण विवरण तथ्याङ्क ऐन–२०७९ अनुसार पूर्ण रूपमा गोप्य रहने अधिकारी दासले स्पष्ट पारे। उनका अनुसार संकलित तथ्याङ्क केवल सांख्यिकीय प्रयोजनका लागि सामूहिक रूपमा प्रयोग गरिनेछ, व्यक्तिगत विवरण सार्वजनिक गरिने छैन।
कलैयादेखि जितपुरसिमरासम्म उल्लेखनीय प्रगति
हालसम्म कलैया, जितपुरसिमरा, निजगढ र महागढीमाई लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाइएको छ। व्यस्त औद्योगिक तथा व्यापारिक क्षेत्रहरूमा भने तथ्याङ्क संकलन अझै जारी रहेको छ।
आर्थिक गणनाले कृषि, उद्योग, व्यापार, यातायात, होटल तथा रेस्टुरेन्ट, शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार, वित्तीय सेवा, निर्माण, घरजग्गा कारोबार लगायत औपचारिक र अनौपचारिक दुवै प्रकारका आर्थिक गतिविधिलाई समेटेको छ।
चुनौती पनि छन्, सहयोग पनि
गणक तथा सुपरिवेक्षकहरूले व्यवसायीहरू कार्यालय वा पसलमा उपस्थित नहुनु, कतिपयले विवरण दिन हिच्किचाउनु, फोन सम्पर्क नहुनु तथा व्यस्त बजार क्षेत्रमा समय व्यवस्थापन कठिन हुनुजस्ता चुनौती सामना गरिरहेको बताएका छन्।
यद्यपि अधिकांश व्यवसायी तथा स्थानीय नागरिकबाट सकारात्मक सहयोग प्राप्त भइरहेको जनाइएको छ। कलैयाका एक व्यवसायीले “सरकारले सही तथ्याङ्कका आधारमा उद्योग तथा व्यापारमैत्री नीति बनाओस्” भन्ने अपेक्षा व्यक्त गरेका छन् भने जितपुरसिमराका एक उद्योगीले “औद्योगिक क्षेत्रको वास्तविक अवस्था सरकारसमक्ष पुग्नुपर्छ” भन्दै गणनाको महत्व औँल्याएका छन्।
सुपरिवेक्षकको निगरानी, प्रविधिमा केही चुनौती
सुपरिवेक्षकहरूले गणकहरूको कामको नियमित अनुगमन, तथ्याङ्कको गुणस्तर परीक्षण तथा दैनिक प्रगति मूल्याङ्कन गरिरहेका छन्। कतिपय स्थानमा कमजोर इन्टरनेट तथा नेटवर्क समस्याका कारण डाटा अपलोडमा ढिलाइ भए पनि समन्वयमार्फत समस्या समाधान गर्दै कार्यलाई तीव्र बनाइएको अधिकारी दासले बताए।
बाराको आर्थिक महत्व राष्ट्रिय स्तरमै विशेष
अधिकारी दासका अनुसार पथलैया औद्योगिक क्षेत्र, सिमरा करिडोर तथा सीमावर्ती व्यापारिक गतिविधिका कारण बारा नेपालकै महत्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्रमध्ये एक हो। यहाँ रहेका ठूला उद्योगदेखि साना घरेलु व्यवसायसम्मको तथ्याङ्क राष्ट्रिय अर्थतन्त्रको मूल्याङ्कनका लागि महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।
सबैको साथ आवश्यक
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ तथा जिल्लाका १६ वटै स्थानीय तहले गणना अभियानमा सहयोग गरिरहेका छन्। सम्बन्धित निकायहरूले सामाजिक सञ्जालमार्फत पनि व्यवसायी तथा नागरिकलाई गणनामा सहभागी हुन आग्रह गरेका छन्।
अधिकारी दासले आर्थिक गणना सम्पूर्ण देशको आर्थिक भविष्यसँग जोडिएको अभियान भएकाले गणकहरू व्यवसाय स्थल वा कार्यालयमा पुगेका बेला सही र यथार्थ विवरण उपलब्ध गराई सहयोग गर्न सबै नागरिकसँग अनुरोध गरेका छन्।
उनका अनुसार बाँकी १९ प्रतिशत तथ्याङ्क संकलन कार्य पनि तीव्र गतिमा भइरहेको र सबै अवस्था अनुकूल रहेमा २०८३ असार ७ गतेभित्र सम्पूर्ण स्थलगत विवरण संकलन सम्पन्न हुने अपेक्षा गरिएको छ।





