रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत
रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत

काठमाडौं १५ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट बागमती प्रदेश अन्तर्गत दलित महिला क्लस्टर तर्फ सबिना बिक सर्वाधिक मतसहित निर्वाचित भएकी छन्। उनले १ हजार ११ मत प्राप्त गर्दै उक्त क्लस्टरमा पहिलो स्थान हासिल गरेकी हुन्। महाधिवेशन प्रतिनिधिहरूको मत परिणामले पार्टीभित्र सबिना बिकप्रतिको विश्वास र स्वीकार्यतालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।
सानै उमेरदेखि राजनीतिक चेतनाले प्रभावित बनेकी सबिना बिकले करिब १४ वर्षको उमेरदेखि नै विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। शान्ति प्रक्रिया, २०६२/६३ को जनआन्दोलन, संविधानसभा निर्वाचनलगायत मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनका क्रममा उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सक्रिय सहभागिता जनाएको उनका सहकर्मीहरू बताउँछन्।
राजनीतिक अभियानसँगै सांस्कृतिक गतिविधि, जनचेतनामूलक कार्यक्रम तथा कलाकारितामा समेत उनको उल्लेखनीय सहभागिता रहँदै आएको छ। नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको चितवन निर्वाचन अभियानमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेको बताइन्छ।
२०७९ सालमा सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्ने अभियान अघि बढाउँदा सबिना बिक सुरुवाती चरणमै पार्टीसँग जोडिएकी थिइन्। डिपी अर्याल र रविन्द्र बरालमार्फत उनको रवि लामिछानेसँग परिचय भएको थियो। त्यसयता उनी पार्टी संगठन विस्तार, जनसम्पर्क र अभियानमा निरन्तर सक्रिय रहँदै आएकी छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उनलाई समानुपातिकतर्फ दलित महिला उम्मेदवारको रूपमा अघि सारेको थियो। पार्टी राष्ट्रिय शक्तिका रूपमा स्थापित भए पनि उनी संसद् प्रवेश गर्न सकिनन्। त्यसपछि पनि उनले कुनै निराशा व्यक्त नगरी पार्टी निर्माण र संगठन विस्तारमै आफूलाई समर्पित गरिरहिन्।
पार्टीको आन्तरिक निर्वाचन तथा उम्मेदवार छनोट प्रक्रियामा समेत उनले उल्लेखनीय जनसमर्थन प्राप्त गरेकी थिइन्। उनले देशभरबाट १२ हजार ८५६ मत प्राप्त गरे पनि अन्तिम उम्मेदवार सूचीमा उनको नाम समावेश नभएको विषयलाई लिएर उनले खुला रूपमा असन्तुष्टि व्यक्त गरेकी थिइन्। त्यसपछि पनि उनले पार्टी नछोडी संगठन सुदृढीकरणमा निरन्तर भूमिका खेलिन्। विशेषगरी चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीलाई बलियो बनाउन उनले सक्रिय रूपमा काम गरेको नेताहरूको भनाइ छ।
हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट सहभागी प्रतिनिधिहरूले उनलाई १ हजार ११ मत प्रदान गर्दै दलित महिला क्लस्टरमा पहिलो स्थानमा निर्वाचित गराएका छन्। यो परिणामलाई पार्टीभित्र लामो समयदेखि सक्रिय योगदान दिँदै आएकी नेताप्रति महाधिवेशन प्रतिनिधिहरूले गरेको सम्मानका रूपमा समेत हेरिएको छ।
महाधिवेशनपछि सबिना बिकले आगामी दिनमा पार्टीको नेतृत्व तहमा रहेर जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरे पनि सो पदमा धेरै आकांक्षी रहेकाले सहकर्मीहरूलाई सहयोग गर्ने निर्णय लिएको बताएकी छन्।
सबिना बिकले आगामी दिनमा पार्टीमार्फत गरिब, विपन्न, दलित, आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायको हकहित, सामाजिक न्याय र समावेशी नीतिनिर्माणका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य रहेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएकी सबिना बिकले संगठन निर्माण, जनपरिचालन र पार्टी विस्तारमा निरन्तर योगदान दिँदै आफ्नो छुट्टै राजनीतिक पहिचान स्थापित गरेकी छन्। प्रथम राष्ट्रिय महाधिवेशनको नतिजाले पनि पार्टीभित्र उनको प्रभाव, सक्रियता र नेतृत्व क्षमताप्रति प्रतिनिधिहरूको विश्वासलाई स्पष्ट रूपमा उजागर गरेको छ।






