वन मन्त्रालयका निर्णयमाथि चुरे संरक्षण अभियान आक्रोशित

वन मन्त्रालयका निर्णयमाथि चुरे संरक्षण अभियान आक्रोशित

सरकारी निर्णय कार्यान्वयन नभए आन्दोलन चर्काउने चेतावनी”

जनकपुरधाम, १० असार

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले वन तथा वातावरण मन्त्रालय तथा मधेश प्रदेश सरकारका विभिन्न निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरी लाई ज्ञापनपत्र बुझाएको छ।

अभियानका राष्ट्रिय संयोजक सुनिल यादव द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहको सरुवा निर्णय कार्यान्वयन नगरी लामो समयसम्म अल्झाएर राखिएको प्रति गम्भीर आपत्ति जनाइएको छ। अभियानले सरकारी निर्णय कार्यान्वयन नहुँदा राज्य संयन्त्र कै विश्वसनीयता माथि प्रश्न उठेको जनाएको छ।

ज्ञापनपत्रमा रौतहट वन क्षेत्रसँग सम्बन्धित विभिन्न अनियमितता, वन दोहन तथा प्रशासनिक विवादबारे गठित छानबिन समितिहरूले प्रतिवेदन बुझाइसके पनि ती प्रतिवेदन सार्वजनिक नगरिनु र कार्यान्वयन प्रक्रियामा नल्याइनु शंकास्पद देखिएको उल्लेख गरिएको छ। अभियानले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

त्यसैगरी, महोत्तरीको बर्दिवास–कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारी श्वेता झा, सुमन श्रेष्ठसहित सात जना कर्मचारीलाई घण्टौँसम्म बन्धक बनाइएको तथा सरकारी सवारीसाधनमा आगजनी गरिएको घटनाप्रति पनि अभियानले मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएको छ। आफ्नै मातहतका कर्मचारीमाथि भएको गम्भीर घटनामा समेत मन्त्रालय मौन बसेको आरोप अभियानले लगाएको छ।

अभियानले तत्काल सरुवा आदेश कार्यान्वयन गरी रौतहटमा नयाँ डिभिजनल वन अधिकृत खटाउन, रौतहट वन क्षेत्रसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा बर्दिवास–कालापानी घटनाका दोषीलाई कानुनी दायरामा ल्याई पीडित कर्मचारीलाई न्याय दिलाउन माग गरेको छ।

मागहरू यथाशीघ्र सम्बोधन नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत अभियानले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।