विष्णुपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न, नयाँ कार्यसमिति चयन
विष्णुपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न, नयाँ कार्यसमिति चयन

सप्तरी ९ जेष्ठ
सप्तरी विष्णुपुर गाउँपालिका वडा नं–३ मुहसहरनियाँ स्थित ऋषिनाथ मन्दिर प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गाउँपालिका स्तरीय प्रथम पार्टी विस्तार भेला भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सम्पन्न उक्त भेलाले संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि तथा भ्रष्टाचारविरुद्ध जनआवाज सशक्त बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको थियो।
पालिका संयोजक शिवराम साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला संगठन विभाग संयोजक शिव यादव, क्षेत्रीय नेता उपेन्द्र कुमार साह, प्रमेश्वर सदा, विरेन्द्र प्रसाद राम, जगदीश मण्डल, मोति, सन्तोषलगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो। साथै विष्णुपुर गाउँपालिकाका वडा नं–१ देखि ७ सम्मका वडा सभापति, युवा, विद्यार्थी, बुद्धिजीवी, महिला तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
भेलालाई सम्बोधन गर्दै वक्ताहरूले स्थानीय तहमा मौलाउँदै गएको नातावाद, कृपावाद तथा कार्यकर्ता–कर्मचारीतन्त्रको विकृत संस्कार अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
उनीहरूले जनताको करबाट सञ्चालित स्थानीय सरकार पारदर्शी, स्वच्छ र जनउत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्दै “जनस्वतन्त्रता कायम गर्ने स्वच्छ पालिका निर्माण” आजको प्रमुख आवश्यकता भएको बताएका थिए।
कार्यक्रममा सहभागी गायक सन्तोष अमातले केवल “भ्रष्टाचारमुक्त समाज” भन्ने नाराले मात्र परिवर्तन सम्भव नहुने उल्लेख गर्दै आम नागरिकले पुरानो सोच र मानसिकता त्याग्नुपर्ने बताए।
उनले इमानदारी, सामाजिक उत्तरदायित्व र जनचेतनाको विकासमार्फत मात्र संगठन बलियो बन्न सक्ने धारणा राखे।
भेलामा अधिकांश वक्ताहरूले पालिका स्तरमा भइरहेका तथा विगतमा भएका अनियमितता र भ्रष्टाचारका विषयमा खुलेर आवाज उठाएका थिए। क्षेत्रीय नेता उपेन्द्र कुमार साहले पार्टी विस्तारसँगै जनतामाझ वैकल्पिक राजनीतिक संस्कार स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।
भेलाबाट विष्णुपुर गाउँपालिका स्तरीय नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार शिवराम साह सभापति, बुधसागर मेहता उपसभापति, ॐप्रकाश “राजु” यादव सचिव तथा अर्जुन यादव सहसचिव चयन भएका छन्।
बाँकी सदस्यहरूको चयनका लागि निर्णायक समितिलाई थप दुई सदस्य मनोनयन गरी ११ सदस्यीय कार्यसमिति पूर्णता दिने जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। कार्यक्रमको अन्त्यमा सहभागी सदस्यहरूलाई अविर लगाएर स्वागत गरिएको थियो।
समापन मन्तव्य राख्दै अध्यक्ष शिवराम साहले पार्टीलाई स्पष्ट उद्देश्य, दूरदृष्टि र जनभावनासँग जोडेर अघि बढाउनुपर्ने बताए। उनले गाउँपालिकाका सम्पूर्ण नागरिकलाई संगठनमा आबद्ध भई भ्रष्टाचार, विभेद तथा राजनीतिक विकृतिविरुद्ध एकजुट हुन आह्वान गरे। स्थानीय स्तरमा वैकल्पिक राजनीति, सुशासन र जनउत्तरदायित्वको बहसलाई केन्द्रमा राखेर सम्पन्न भएको उक्त भेला विष्णुपुर गाउँपालिकाको राजनीतिक वृत्तमा अर्थपूर्ण तथा चासोको विषय बनेको छ।






