नेपाल–भारत मित्रता थप प्रगाढ : भारतद्वारा नेपाललाई १० कैदी वाहक ट्रक हस्तान्तरण
नेपाल–भारत मित्रता थप प्रगाढ : भारतद्वारा नेपाललाई १० कैदी वाहक ट्रक हस्तान्तरण

वीरगञ्ज १२ जेष्ठ
नेपाल–भारतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र विकास साझेदारीलाई थप सुदृढ बनाउने क्रममा भारत सरकारले नेपाललाई १० वटा कैदी वाहक ट्रक हस्तान्तरण गरेको छ। वीरगञ्जमा आयोजित एक कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई उक्त ट्रकहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
नेपालको कानून कार्यान्वयन तथा सुरक्षा व्यवस्थापन क्षमतालाई थप सुदृढ बनाउन प्रदान गरिएको यी ट्रकहरूले कैदीहरूको सुरक्षित ढुवानी तथा सुरक्षा निकायको कार्यसम्पादनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले भारत सरकारप्रति आभार व्यक्त गर्दै नेपाल–भारतबीचको घनिष्ठ, मैत्रीपूर्ण र पारस्परिक रूपमा लाभदायक सम्बन्धको प्रशंसा गर्नुभयो। उहाँले दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सशक्त बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।
भारतले यसअघि पनि नेपालको आवश्यकता अनुरूप विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। यस वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारको अनुरोधमा एसयूभी, पिकअप र ट्रकसहित करिब ६४० वटा सवारी साधन उपलब्ध गराइएको थियो। त्यस्तै विगतका वर्षहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई २ हजारभन्दा बढी सवारी साधन प्रदान गरिसकिएको छ।
नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक तहमा सीमित छैन। खुला सीमा, सांस्कृतिक निकटता, धार्मिक आस्था, पारिवारिक सम्बन्ध, व्यापारिक साझेदारी तथा जनस्तरको आत्मीय सम्बन्धले दुई देशलाई विशेष रूपमा जोडेको छ। विकास, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार निर्माण, सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ।

दुवै देशबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीको प्रतिबिम्बका रूपमा हेरिएको यो सहयोगले नेपाल र भारतका नागरिकबीच रहेको गहिरो विश्वास, आपसी सद्भाव र ऐतिहासिक मित्रतालाई थप मजबुत बनाएको छ।
नेपाल–भारत सम्बन्धलाई दक्षिण एसियाकै सबैभन्दा पुरानो र निकट सम्बन्धमध्ये एक मानिन्छ। पछिल्ला वर्षहरूमा विकास साझेदारी र जनस्तरको सम्पर्क विस्तार हुँदै जाँदा दुई देशबीचको मित्रता अझ प्रगाढ बन्दै गएको छ। भारतद्वारा प्रदान गरिएको १० कैदी वाहक ट्रकलाई पनि यही विश्वास, सहकार्य र मित्रताको अर्को महत्वपूर्ण प्रतीकका रूपमा रहेको छ।




