निर्वाचनमा युवाको भूमिका मतदाताबाट नेतृत्वकर्तासम्म पुर्याउनुपर्नेमा जोड
निर्वाचनमा युवाको भूमिका मतदाताबाट नेतृत्वकर्तासम्म पुर्याउनुपर्नेमा जोड

वीरगञ्ज २१ असोज
निर्वाचन प्रक्रियामा युवाको सहभागिता केवल मतदानमा सीमित नभई नेतृत्व र निर्णय प्रक्रियासम्म विस्तार गर्नुपर्नेमा वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
एकाउन्टेबिलिटी ल्याब नेपाल (ALN) को आयोजनामा वीरगञ्जस्थित भिस्वा होटलमा भएको कार्यक्रममा युवाको निर्वाचनमा पहुँच, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासमा उनीहरूको भूमिकाबारे छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले लोकतन्त्रलाई समावेशी, पारदर्शी र जवाफदेही बनाउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। निर्वाचनमा युवा मतदाताको संख्या उल्लेख्य भए पनि नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता अपेक्षाकृत कमजोर रहेको विषयसमेत उठाइएको थियो।
स्थानीय तहदेखि संघीय तहसम्म नीति निर्माण र निर्णय प्रक्रियामा युवाको भूमिका बढाउन नेतृत्व विकासका अवसर सिर्जना गर्नुपर्नेमा सहभागीहरूको जोड थियो। युवालाई राजनीतिक तथा लोकतान्त्रिक प्रक्रियाका सक्रिय साझेदारका रूपमा विकास गर्न निरन्तर संवाद, क्षमता अभिवृद्धि र अवसर आवश्यक रहेको उनीहरूले बताएका थिए।
कार्यक्रममा निर्वाचन प्रक्रियालाई थप पारदर्शी, समावेशी तथा जवाफदेही बनाउने उपायबारे समेत विचार आदानप्रदान गरिएको थियो। साथै, युवाले लोकतान्त्रिक अभ्यासमा निर्वाह गर्न सक्ने भूमिका र उनीहरूको नेतृत्व क्षमता विकासका विषयमा सहभागीबीच छलफल भएको थियो।
कार्यक्रममा एकाउन्टेबिलिटी ल्याब नेपालका कार्यक्रम अधिकृत क्रमिक काफ्ले, कार्यक्रम सह–प्रबन्धक स्वस्तिका बस्नेत, कार्यक्रम अधिकृत अमरेश यादवलगायतको सहभागिता थियो। मधेसका विभिन्न क्षेत्रबाट आएका युवाहरूको समेत कार्यक्रममा सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
अन्तरक्रियाले निर्वाचन प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउँदै उनीहरूलाई नेतृत्व र निर्णय प्रक्रियामा स्थापित गर्ने विषयमा साझा धारणा निर्माण गर्ने प्रयास गरेको आयोजकको भनाइ छ।






