भैरहवामा हिन्दू राष्ट्र संगोष्ठी सम्पन्न : “नेपाल सुरक्षित भए भारत पनि सुरक्षित रहन्छ”
भैरहवामा हिन्दू राष्ट्र संगोष्ठी सम्पन्न : “नेपाल सुरक्षित भए भारत पनि सुरक्षित रहन्छ”

रुपन्देही ९ जेष्ठ
भैरहवास्थित नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा हिन्दू राष्ट्र विषयक एक विशेष संगोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। सनातन धर्म, सांस्कृतिक मूल्य तथा हिन्दू राष्ट्रको अवधारणामाथि केन्द्रित उक्त कार्यक्रममा धार्मिक, सामाजिक तथा व्यवसायिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पूज्यपाद जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर महाराजका कृपापात्र शिष्य तथा “विश्व ब्राह्मण भूषण” सम्मानबाट सम्मानित अधिवक्ता प्रेमचन्द झाको प्रमुख सान्निध्यमा आयोजित कार्यक्रममा हिन्दू धर्म र सनातन संस्कृतिको संरक्षणका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता झाले सनातन सभ्यता, धार्मिक परम्परा तथा सांस्कृतिक मानबिन्दुको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले गोवर्धन मठ, पुरीबाट हिन्दू समाजको जागरण र संगठनका लागि विभिन्न अभियान सञ्चालन भइरहेको जानकारी दिँदै नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध अत्यन्त गहिरो रहेको उल्लेख गर्नुभयो।
उहाँले “नेपाल सुरक्षित रह्यो भने भारत पनि सुरक्षित रहन्छ” भन्ने धारणा व्यक्त गर्दै विश्व शान्ति र सनातन मूल्यको संरक्षणका लागि नेपाल र भारतलाई पुनः हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार हिन्दू समाजलाई एकताबद्ध गर्न सेवा, स्वाध्याय, सत्संग तथा संगोष्ठीजस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्नेछन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका राष्ट्रिय उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले आफ्नो धारणा राखेका थिए। वक्ताहरूले नेपालको धार्मिक पहिचान, सांस्कृतिक मौलिकता तथा सामाजिक एकताको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।
उनीहरूले भव्य नेपाल र भव्य भारत निर्माणका लागि सञ्चालन भइरहेको धार्मिक तथा सामाजिक अभियानलाई समर्थन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। कार्यक्रममा सहभागीहरूले हिन्दू समाजलाई संगठित र जागरूक बनाउन यस्ता वैचारिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सुरुवात भैरहवा भजन टोलीद्वारा प्रस्तुत गरिएको गुरु वन्दनाबाट गरिएको थियो। धार्मिक वातावरणबीच सम्पन्न कार्यक्रममा सहभागीहरूले सनातन धर्मको संरक्षण र सामाजिक एकताको सन्देश प्रवाह गरेका थिए।
संगोष्ठीका संयोजक अंकित शर्मा तथा आयोजक टोलीका अन्य सदस्यहरूले कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रम नेपालका राैतहट विभिन्न जिल्लामा समेत आयोजना गरिएको छ।





